मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नौं संस्करण भर्चुअल्ली हुने भएको छ । महोत्सव मंसिर ६ देखि ९ गतेसम्म अनलाइनबाट हुनेछ ।
महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र देखाइनेछ । महोत्सवमा चलचित्रहरु अनलाइन वेभसाइटमार्फत देखाइनेछ । महोत्सवमा अन्य छलफल, अन्तर्क्रिया तथा बहसहरु भर्चुअल्ली गरिने बताइएको छ ।
महोत्सवमा मानव अधिकार र न्यायका लागि वातावरण, मानव अधिकारमा कोडिभ –१९ को प्रभाव, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिकाजस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवासँग अन्तर्क्रिया तथा छलफल गरिने बताइएको छ ।
त्यस्तै, ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने बारे मास्टरक्लासको पनि आयोजना गरिने आयोजकले बताएको छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनको लागि छनोट गरिएको हो ।
महोत्सवमा छनाेट भएका चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट गएर हेर्न सकिनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय विधामाका चलचित्रहरुको प्रदर्शन मात्र गरिनेछ भने नेपाली विधाका चलचित्रहरुको प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ ।