कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन पनि फिर्ता लिने निर्णय

नेपाली कांग्रेसका नेता केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले बाहिरिने निर्णय लिएको छ ।

सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सरकारबाट बाहिरिने निर्णयपछि सोमबार नै मन्त्रीहरूले पनि राजीनामा दिने भएका छन् ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।

माओवादीले सरकार छाडेसँगै अर्को प्रमुख दल नेकपा एमालेले पनि समर्थन फिर्त लिँदैछ । एमालेले समर्थन फिर्ता लिएर दुई दलले नयाँ सरकार गठन प्रक्रियाको तयारीमा जुटेका छन् । यससँगै दुई दल मिलेर वैकल्पिक सरकारको दाबी गर्ने भएका छन् । यी दुई दलले सोमबार नै प्रदेश सभाको विषेश अधिवेशन पनि माग गरेको छ ।