प्रविणता प्रमाणपत्र तहको नर्सिङ अध्ययन पूरा गरेर ३ बर्ष भोलेण्टियर्स गरेपछि चावहिलकी दिप्ती मैनाली अहिले बीएस्सी नर्सिङको तयारीमा छन् । झण्डै ८ लाख खर्चेर २ बर्षको अध्ययन पूरा गरेपछि दुई बर्ष एक निजी अस्पतालमा काम गरिन् । बीएस्सीका लागि दुई बर्ष अनिवार्य काम गनुपर्ने बाध्यात्मक नियमका कारण उनले पारिश्रमिक बिनै दैनिक ११ घण्टा काम गरेको बताउछिन् ।
दुई वर्षअघि अध्ययन सकेकी डिल्लीबजारकी स्वस्तिका चापागाईले निजी अस्पतालमा काम थालेको १९ महिना भयो । अहिले उनको मासिक तलब ९ हजार रुपैयाँ छ । ५ महिना भोलेन्टियर्स गरेकी चापागाई निकै न्यून तलबमा भएपनि साथीहरुले भन्दा पहिले जागिर पाएकोमा भने खुसी छन् ।
ललितपुरको इमाडोलकी महिमा थापाको पनि नर्सिङ अध्ययन सकिएको पुगनपुग ३ बर्ष भयो । अध्ययन सकेको ४ महिनापछि एक छिमेकी व्यापारीको सहयोगमा ग्वार्कोमा चलेको अस्पतालमा भोलेन्टियर्स काम थाल्दा थापा निकै खुसी भइन् । तर काम गर्न थालेको ३२ महिनासम्म दैनिक ११ घण्टा बढी काममा जोतिएर ७ हजार तलबमा चित्त बुझाउनुपर्दा पेशाप्रति नै बितृष्णा पैदा भएको थापाको गुनासो छ ।
काठमाण्डौको ठमेलमा अवस्थित एक अस्पतालमा कार्यरत तिमिल्सिना थरकी नर्सको त ११ महिनाको भोलिन्टियर्स सेवापछि पारिश्रमिक माग्दा जागिर छाड्नुपरेको अनुभव छ । तलब माग्दा काम गर्न नसकेको आरोप लगाएर जागिरबाट निकालिएकी तिमिल्सिना भन्छिन् सरकारले अस्पतालमा हुने चरम श्रम शोषणको अनुगमन नगर्दा हजारौ नर्सहरु यस्तै समस्या भोग्न बाध्य छन् ।
नर्सहरु मात्रै होइन नर्सिङ पेशा अपेक्षाकृत नभेटेपछि मोटो लगानी गरेर छोरीलाई नर्स बनाएका अभिभावक समेत अहिले अप्ठ्यारोमा छन् ।
बीएस्सी नर्सिङपछि बसुन्धराको एक अस्पतालमा १० हजारमा काम गरिरहेकी रुपा शर्माका बुवा नन्दलाल पाध्याय छोरीलाई विदेश पठाउने केटा खोज्दैछन ।
१५ लाख बढी खर्चेर बीएस्सी नर्सिङ सकेकी छोरीले मुस्किलले कमाउने मासिक १० हजारले उनकै खर्च चलाउन नसकेपछि विदेश पठाउने बाटो खोजेका पाध्याय निर्धक्क सुनाउछन् । नर्स बनाएर बिरामीको सेवा गराउने उद्देश्यले मोटो लगानीमा नर्सिङ पढाएपनि निजी अस्पतालले यो पेशालाई कमाई खाने भाँडोमात्रै बनाइदिँदा यस्तो अवस्था आएको पाध्यायको बुझाई छ ।
यी त उदाहरण मात्रै हुन् । बाहिरबाट निक्कै ग्ल्यामर्स देखिने नर्सिङ पेशाभित्र हजारौ यस्ता समस्या छन् । जसका कारण सुन्दर सपना बोकेर नर्सिङ अध्ययनका लागि लाखौँ खर्चिने नेपाली अहिले पासपोर्ट बोकेर दुतावासको शरणमा पुग्ने गरेका छन् । काम नगरे आफूमा भएको सीप बिर्सने, काम गरे पकेट खर्च नपुग्ने अवस्थाका कारण यसरी विदेशिने नर्सहरुको सङ्ख्या अहिले दिन दुईगुना रात चौगुनाले बढेको छ ।
मोटो लगानी गरेर पढेपछि काम पाउनै मुस्किल पाइहाले खर्च पु-याउनै धौधौँ । यहीँ कारण विदेश जाने तयारी गरेको वीर अस्पतालमा कार्यरत नस्रिना मगर बताउछिन् । आफ्नी दिदी केही बर्षदेखि अष्टेलियामा यहीँ पेशामा रहेर राम्रो नाम र दाम कमाएको देखेपछि विदेशिने रहर जागेको मगरको भनाई छ ।
डाक्टर पढेर जानेले भन्दा नर्स पढेर जानेले विदेशमा राम्रो काम र पैसा कमाउने हुनाले नर्सहरू विदेश जाने गरेको नेपाल नर्सिङ संघका अध्यक्ष पोखरेलको अनुभव छ । नेपालका नर्सहरुको अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतमा बढी आर्कषण देखिन्छ । नेपालबाट नर्सिङ पढेकाहरु यी देशमा बृद्धबृद्धाको हेरचाह गर्ने काम पाउने र यसमा मनग्ये आम्दानी हुने भएकाले यसप्रति नेपाली नर्सको आर्कषण बढेको हो ।
नर्सहरूको उत्पादन धेरै र माग कम हुँदा हजारौँ नर्सको श्रमशोषण हुने गरेको छ । जसको प्रभाव उनीहरूले दिने स्वास्थ्य सेवामा समेत परिरहेको छ । सरकारी अस्पतालमा २० हजार नर्सको कोटा छ, त्यसमा १० हजार मात्र काम गरिरहेका छन् । सरकारले न्यूनतम पारिश्रमिक तोकेर अस्पतालमा नर्स प्यासेन्ट रेसियो नराखेकै कारण नर्सहरु श्रमशोषण भोग्न बाध्य भएको नेपाल नर्सिङ एशोसियनकी अध्यक्ष तारा पोखरेलको तर्क छ । नर्स प्यासेन्ट रेसियो अनुसार अस्पताल, स्कुल–कलेजमा राख्ने हो भने नेपालमा ७५ हजार नर्स तत्काल आवश्यकता रहेको पोखरेल बताउछिन । तर सरकारले यसमा उदासिनता देखाउँदा नेपालमा उत्पादित नर्सहरु पहिलो त जागिर अभावमा रुमलिनुपर्ने , पाइहालेपनि अत्यन्तै न्यून तलबमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था बिद्यमान रहेको अध्यक्ष पोखरेलको बुझाई छ ।
विश्व स्वास्थ्य संगठनले जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी, सुत्केरी वार्डमा २ नर्स १ बेड, आइसियू, सिसियूमा १ नर्स १ बिरामी, पोस्ट अपरेटिभ वार्डमा १ नर्स १ बिरामी, अपरेसन थिएटरमा १ टेबल ३ नर्स हुनुपर्ने मापदण्ड बनाएको छ । नेपाल सरकारले पनि डब्लुएचओको यहीँ मापदण्डमा हस्ताक्षर गरेको छ । बिडम्बना अहिलेपनि १ नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्थाले बिश्वस्वास्थ्य संगठनको मापदण्ड ठाडै उल्लंघन गरेको वीर अस्पतालमा कार्यरत मुना थापाको गुनासो छ । नेपाल नर्सिङ संघको तथ्याङ्क अनुसार हालसम्म दर्ता हुने नर्सको संख्या ७८ हजार ६ सय ५७ छ । जसमा एएनएम ३१ हजार ५ सय ८९ , स्टाफनर्स ४५ हजार १ सय ३९ नर्सिङ पेशामा आबद्ध छन । यद्यपी नर्स र बिरामीको अनुपात कार्यान्वयनमा ल्याउने हो भने यो सङ्ख्या समेत अपुग हुने देखिन्छ । तर झण्डै २० हजार बढी कोटा रहेका नेपालका निजी अस्पतालमा आधा सङ्ख्याले काम चलाउने सरकारले निक्कै कम दरबन्दी सिर्जना गर्ने प्रवृत्तिले उत्पादन भएका नर्सहरु अध्ययन सकिएकै भोलीपल्टदेखि विदेशी नियोग कुर्न बाध्य हुनुपरेको छ ।