सन्तान प्राप्तिमा संसार जितेको खुसी महशुस गर्ने आमाबाबुलाई आफ्नो सन्तान साथमै होस् भन्ने रहर नहुने कोही हुँदैन । जिन्दगीको उत्तरार्धमा परिवार, छोराछोरी र आफन्तजनको सहारा हरेक बृद्धबृद्धाले खोज्छन् र यो स्वाभाविक हो । तर सन्तान नभएर वा भएर पनि साथमा नभएर बृद्धाआश्रममा सहारा लिइरहेको बृद्धबृद्धहरुको अवस्था दयनीय छ ।
सन्तान नहुने भन्दा भएर पनि एक्लो जिन्दगी जिउनु पर्दा साह्रै विरक्त लाग्ले गरेका पशुपति बृद्धाआश्रममा आश्रित शंकर कारञ्जित बताउछन । दुई छोरा र श्रीमती सहितका कारञ्जित आर्थिक अभावले बृद्धाआश्रममा बस्नुपरको हो । बुढेशकालमा पाल्ने एकमात्र छोराले सडकमै छाडेपछि बृद्धाआश्रममा आश्रित हुनुपरेकी धादिङकी कौशिलादेवीको पीडा पनि उस्तै छ । तीन भाइ छोराकी आमा कौशिलादेवी आफु वेसहारा भएर आश्रममा बस्नुपर्दा समेत उनै छोराको मायाले तड्पाइरहने सुनाउँछिन । १३ बर्षअघि गुल्मीबाट काठमाण्डौ आएका विनोद देवकोटा केही बर्ष सडकमा नाङ्लो पसल थापेर गुजारा चलाएपनि हातखुट्टा चल्न छाडेपछि बृद्धआश्रम पुगेका हुन । सहारा विहीन भएर बृद्ध आश्रममा दिन कटाईरहेका यी त प्रतिनिधिहरु मात्रै हुन् ।
डाँडामाथिका घाम बनेका धेरै बृद्धवृद्धाहरु अहिले सन्तान अभाव कोही त सन्तान भएर पनि जेनतेन जीवन धानिरहेका छन् ।
घरपरिवार र गुजारा चलाउने आयआर्जनको बाटो नहुने मात्रै होइन छोराछोरीको राम्रै आय भए पनि वृद्धाश्रमको भरोसामा बाँच्नुपर्ने पनि धेरै छन । एकातिर सन्तान भएर पनि आश्रममा एकाँकी जीवन जिउनुपर्ने पीडा र अर्कोतिर शारीरिक दुर्बलता र उदासीनताका कारण जीवनभन्दा मृत्यु कुरेझै निराशा उनीहरुको चेहरामा झल्किन्छ । छोराबुहारी नेपालका राजनीतिक दलमा सक्रिय नेता तथा व्यापारीदेखि अमेरिका, अष्ट्रेलिया जस्ता मुलुकमा पेशा व्यवसाय गर्नेहरुका आमा बाबुसमेत अहिले आश्रममा भेटिन्छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव छत्रबहादुर प्रधानले सम्पत्तिका कारण वृद्धवृद्धा बूढेसकालमा आफ्ना सन्तानबाट एक्लिनु परेको तर्क गर्छन । नयाँ पुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवारको संरचनाभित्र जन्मदाता बाबुआमा नअटाएको देखिन्छ ।यस्तो समस्या भोग्नुपरेका बृद्धबृद्धाका समस्याका बिषयमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले बेला बेला आवाज उठाउदै आएको छ । यद्यपि सरकारले यस्ता बिषयमा उदासिनता देखाउदा बृद्धबृद्धाका समस्या झन् जटिल बन्दै गएको जेष्ठ नागरिकको अधिकारका विषयमा आवाज उठाउदै आएका उमाकान्त रिमालको गुनासो छ ।
ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिए पनि त्यो अहिलेसम्म पूर्ण रुपमा कार्यान्वयन आउन सकेको छैन । ऐन कार्यान्वयन गर्नुपर्ने माग गर्दै अग्रज समाज नेपालको नेतृत्वमा ज्येष्ठ नागरिकले विगत लामो समयदेखी धर्ना अनसन ¥यालीसमेत हुने गरेको छ । तर यसतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा कतिपय बृद्धबृद्धा अहिले पनि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिनबाट बञ्चित छन ।
संयुक्त परिवारभन्दा एकल परिवारप्रति आकर्षित हुदै जाँदा विद्यमना आश्रमहरु समेत आवश्यकता भन्दा साँघुरा देखिएका छन् । यसका लागि सरकारले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमा विरुद्ध कुनै निहुँमा उजुरी गर्ने नपाउने कानुन तयार गरी बृद्धबृद्धाका सहज जीवन यापनको ग्यारेण्टी अहिलेको आवश्यकता हो ।