नेपाल बारको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि मतदान शुरु भएको छ । विहान ८ बजेबाट मतदान सुरु भएको हो । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको छ । मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।