त्रिभुवन राजपथ अन्तरगत वीरगञ्ज पथलैया सडकखण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएको छ । व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले सडक क्षेत्र अतिक्रमण गरेर बनाएको २५ वटा घर भत्काएको हो ।बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जनपथ र सशस्त्र प्रहरीसहित ६३ जनाको टोली सडक अतिक्रमण हटाउन खटिएको थियो ।
सडक अतिक्रमण हटाउने क्रममा स्थानीय महिला आएर विरोध जनाएपछि महिला सुरक्षाकर्मी टोलीसमेत खटाइएको थियो । परवानीपुरमा १९ वटा मध्ये ९ वटा र जीतपुरमा १७ वटामध्ये १६ वटा घर भत्काएर सडक सीमा खाली गरिएको व्यापारिक मार्ग विस्तार योजना कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार साहले जानकारी दिए ।
जीतपुरमा भने आयोजना कार्यालयले सूचनाको म्याद सकिएको भोलिपल्ट चैत १६ गतेदेखि नै अतिक्रमण हटाउन सुरु गरेको थियो । १७ वटा मध्ये १६ वटा घर भत्काइसकिएको आयोजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।
‘बाँकी रहेको एउटा घर भत्काउन आज मेसिन पठाएका थियौं, सूचनाको बारेमा जानकारी थिएन भन्दै सुरुमा कर्मचारीलाई धम्की दिए,’ उनले भने, ‘पछि आफैं भत्काउँछु भनेर लिखित रुपमै ४ दिनको समय मागेका छन् । अब सडक सीमा खाली नगरे डोजर चलाउँछौं ।’
जीतपुरमा पनि यसअघि नै सडक अतिक्रमण गरेर बनाएको संरचना हटाइसकेको भए पनि कतिपय मानिसहरूले नालामा सटाएर घर बनाएका थिए ।व्यापारिक मार्ग अन्तर्गत नै ड्राइपोर्ट क्षेत्रमा पनि ३ वटा घर सडक सीमा अतिक्रमण गरेर बनाइएको छ । त्यसलाई पनि छिट्टै हटाउने योजन कार्यालयले जनाएको छ ।सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि पथलैया क्षेत्रको फुटपाथ खाली गर्ने योजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।