विराटनगरमा चिकित्सक मृत भेटिए, हत्या भएको आशंका

मोरङमा एक चिकित्सक मृत अवस्थामा भेटिएका छन्। विराटनगरमा रहेको नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डा.विजय यादव आज बिहान आफू बस्ने गरेको घरमै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

चिकित्सक यादवको स्थायी घर सप्तरीको राजविराज हो। उनी विगत तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत रहेका अस्पताल स्रोतले जनाएको छ।

विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका यादव नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा आज बिहान डेरा बसेको घरकै कम्पाउन्डभित्र फेला परेका हुन्।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार डा यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। यादवको मृत्युको कारण खुलेको छैन। उनका आफन्तले भने डाक्टरको हत्या भएको दाबी गरेका छन्।