मेयर अशोककुमार चन्दसहित २६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गर्दै

कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर तथा नेकपा एमालेका नेता अशोककुमार चन्द माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

आज एक कार्यक्रमबीच उनलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । मेयर चन्दसँगै पाँच वडाध्यक्षसहित निर्वाचित २६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गर्ने कार्यक्रम छ । १० वडा रहेको बेदकोटमा आठ वडाध्यक्ष एमालेले जितेको थियो । आठमध्ये पाँचजनाले एमाले परित्याग गर्न लागेका हुन् ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् । पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको बताउने गरेका छन् ।

आफूहरू पार्टी विभाजन हुँदा पनि एमालेमै रहेको र पार्टीभित्र आफूहरूमाथि अन्याय भएको उनीहरूले बुझाइ छ । बेदकोटमा एमालेका ११ सय संगठित सदस्य रहेका र तीमध्ये ५०० बढी आज समाजवादीमा समाहित हुन लागेका छन् ।