इन्धन ढुवानीमा ट्याङ्कर चालकको अवरोध

व्यवसायीपछि इन्धन ढुवानीमा ट्याङ्कर चालकको अवरोध गरेपछि आज पनि पेट्रोलियम पदार्थको ढुवानीमा समस्या उत्पन्न भएको छ । हिजो मात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए ।व्यवसायीहरु तेल उठाउन सहमति भए पनि आइतबार ट्याङ्कर चालकहरुले आफ्ना मागहरु अगाडि सार्दै ढुवानी अवरोध गरेपछि डिपोबाट पम्पहरुमा तेल आउन सकेको छैन । थानकोट डिपो क्षेत्रमा चालकहरुसँग अहिले वार्ता चलिरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

राजधानीका सरकारी पेट्रोल पम्पले मात्रै तेल बिक्री गरेपछि आइतबार पनि सर्वसाधारणको लामो लाइन लागेको छ ।

यसअघि पेट्रोलियम व्यवसायीले मूल्य वृद्धिअनुसार कमिसन बढाउनुपर्ने माग गर्दै शुक्रबार डिपोबाट तेल उठाएनन् । शनिबार सार्वजनिक बिदा पर्‍यो । शनिबार साँझ मात्रै व्यवसायीले आज आइतबारबाटै तेल उठाउनेगरी निगमसँग सहमति गरेका थिए । तर चालकको अबरोधले फेरि तेल सहज हुन केही समय लम्बिने भएको छ ।