म्याद नाघेको सामान बेच्दै भाटभटेनी, दुई लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ ।  आइतबार गरिएको अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि दुई लाख जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्री गरिएको पाइने थप कारबाही गर्ने गरि सचेत गराइएको उनले बताएका छन् ।

त्यस्तै कालीमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, केही सामानहरूको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको पौडेलले बताए ।

त्यस्तै टोलीले काठमाडौंको चाल्नाखेलस्थीत एभरेस्ट ग्यास उद्योगको अनुगमन गरेको थियो । सो क्रममा भारतबाट ग्यास आउने क्रममा रहेको र दुई तीन दिनभित्र फिलिङ गरि बजारमा पठाइने जानकारी पाएको अनुगमन टोलीले जनाएको छ । पौडेलले आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने जानकारी दिएका छन् ।