बेलायतमा कोरोना भाइरसको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् ।

शनिबार मात्र पनि त्यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ ।

त्यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार त्यहाँ पछिल्लो २४ घन्टामा देखिएका सहित अहिलेसम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा मात्र त्यहाँ यो सङ्क्रमणबाट व्यक्ति १२७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लो पटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार