सल्यानमा जिप दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित ७ घाइते

सल्यानमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । नेपालगन्जबाट सुत्केरी बोकेर बाग्चौर नगरपालिकाको थारमारे जाँदै गरेको सुप प्र ०१–००१ च ३२५८ नम्बरको जिप सोमबार बिहान छत्रेस्वरी गाउँपालिका ६ चैबाँज्युला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा बाग्चौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीया सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु लगायत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडलेका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ । सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको थियो । गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगतकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि पौडेलले बताए ।