अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी प्रयोजनमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् ।
आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए ।
पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको उनले जानकारी दिए । महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताए । सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए ।
विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको मन्त्री शर्माले जानकारी गराए । बाह्य क्षेत्र बिग्रेकाले त्यसका लागि पहल गरिएको मन्त्री शर्माले बताए ।