चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट मात्रै २५ जनाको आवेदन परेको छ । कांग्रेसको महानगर समितिले उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन माग गरेकामा महानगरपालिका प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको आवेदन परेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र जिल्ला समितिको परिपत्रका आधारमा महानगर समितिले मेयर र उपमेयर पदका आकांक्षीलाई चैत २७ र २८ गते भित्र मनोनयन दर्ता गर्न आह्वान गरेको थियो ।
महानगरको प्रमुख र उपप्रमुखमा दाबी गर्नेमध्ये पुर्वमन्त्री, सांसद र पार्टीका केन्द्रीय सदस्यहरू समेत छन् । बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरमा दाबी गरेका छन् । त्यस्तै, केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले पनि मेयरमा दाबी गरेका छन् । कोइराला गत चुनावमा उम्मेदवारी मनोनयन गरेपछि फिर्ता गराइएका उम्मेदवार हुन् भने गुरुङ पार्टीका पुर्व जिल्ला सभापतिसमेत हुन् ।
त्यस्तै, मेयर पदको उम्मेदवार बन्न आकांक्षा राख्नेमा निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पुर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगरका पुर्वसभापति भरत अधिकारी, पुर्वजिल्ला कोषाध्यक्ष शंकर कँडेल लगायत छन् । हाल उपमेयर रहेकी नेतृ पार्वती शाह ठकुरीले पनि मेयरमा दाबी गरेकी छन् ।
त्यस्तै, नेताहरू नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्न महानगरपालिकाबाट सिफारिसमा पर्न चाहेका छन् ।
यस्तै उपमेयर पदका लागि राजीव न्यौपाने, सुरवीर पोखरेल, टंकनाथ पौडेल, तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरू कार्की, कल्पना पौडेल, देबेन्द्र गुरूङ, पूर्णबहादुर गुरूङ, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले दाबी पेस गरेको महानगर सभापति चित्रसेन अधिकारीले बताए ।
अब महानगरपालिका कार्यसमितिले आकांक्षा राख्नेमध्ये पार्टीको विधानबमोजिम तीन जनाको नाम सिफारिस गर्नेछ । पार्टीको विधानले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था गरेकाले त्यहीअनुसार तीन जनाको नाम सिफारिस भएर आउने महानगर सभापति अधिकारीले बताए ।
गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गत चुनावमा नेकपा माओवादी केन्द्रलाई मेयर पद छोडेकाले अब आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गृहजिल्लाको महानगरमा पुनः आफ्नै छोरीलाई दोहोर्याउन प्रयास गरिरहेका छन् ।
कांग्रेसको नेतृत्व तहमा शेखर कोइराला समूह भरतपुरमा मेयर पद छाड्न नहुने अडानमा छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मेयर पद कांग्रेसले नै पाउनेगरी सहमतिको प्रयास गर्ने आश्वासन दिएको केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए ।
नेकपा एमालेले भने प्रदेश सांसद विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।