एकै ओभरमा ६ विकेट

भिरन्दीप सिंहको अलराउन्ड प्रदर्शनमा मलेसिया–११ ले शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा मलेसियाले पुश स्पोर्ट्स दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । सिदार्थनगर क्रिकेट रंगशालामा पुश स्पोर्ट्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

मलेसियाका अहमद फैजले अविजित ३९ रनको योगदान गरे । त्यस्तै भिरन्दिपले ३३ रन बनाउँदा मुहमद अमिरले अविजित २५ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । दिल्लीका मृगांक पाठकले ३९ को योगदान गरे । त्यस्तै मयांका गुप्ताले ३३ र अभिषेक अग्रवालले २६ रन बनाए ।

बलिङतर्फ मलेसियाका भिरन्दिपले ५ विकेट हात पारे । उनले अन्तिम ओभरमा दिल्लीका ५ विकेट लिएका थिए । दिल्लीले अन्तिम ओभरमा १ रनआउट सहित ६ विकेट गुमायो ।

जितसँगै मलेसियाले सेमिफाइनल सम्भावना कायम राखेको छ । यसअघिको खेलमा मलेसिया–११ रुपन्देही–११ सँग पराजित भएको थियो ।