मेयरको टिकट नपाएपछि एमाले नेताले रुँदैरुँदै छाडे पार्टी (भिडियोसहित)

नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि घिमिरेले रुँदैरुँदै पार्टी छाडेका हुन् । उनले पत्रकार सम्मेलन गर्दै तत्कालिन काँकडभिट्टा गाविसका अध्यक्ष समेत रहेका नेता घिमिरेले पटक पटक आफुमाथि भएको अन्याय सहन नसकेको भन्दै पार्टी छाड्ने घोषणा गरेका छन् ।

उनले स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए । ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

पत्रकार सम्मेलनमा भावुक भएका उनले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । भने ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’

घिमिरे आसन्न वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी रहेका थिए । उम्मेदवार छनौटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा परेका थिएनन् । उम्मेदवार छनौटका क्रममा नेताहरूले आफु बिरुद्ध षडयन्त्र गरेर उम्मेदवारका रूपमा छनौट हुन नदिएको नेता घिमिरेले आरोप उनले लगाएका छन् ।

मेची नगर नगरपालिकाको मेयरमा बहालवाला प्रदेश सांसदहरुले उम्मेदवारीको आकांक्षा देखाएपछि अरु आकांक्षीहरु रुष्ट बनेका थिए ।  नेकपा एमालेका तर्फबाट निर्वाचित झापाका दुईजना बहालवाला प्रदेश सांसदहरुले मेचीनगर र बिर्तामोडको मेयर पदका लागि आकांक्षा राख्दै पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

मेचीनगर नगरपालिकाको मेयर पदका लागि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी र बिर्तामोड नगरपालिकाको मेयर पदका लागि प्रदेश सांसद एकराज कार्कीले पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा मेचीनगरमा प्रदेश सांसद बुढाथोकी पहिलो भएका थिए ।