सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार र कर्मचारीसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
सडक निर्माणसम्बन्धी ठेक्कापट्टामा अनियमितता गरी गुणस्तरहीन काम गरेको आरोपमा आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहित १८ जना विरुद्ध तीन वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
अख्तियारले शुक्रबार विशेष अदालतमा तीनवटा छुट्टाछुट्टै आरोपपत्र दायर गरेको छ । विष्ट र जोशी तथा इन्जिनियरसहित १८ विरुद्ध कैद, बिगो र जरिवाना सजायको मागदाबी लिएको हो । तीनवटै प्रकरणमा प्रतिवादीहरुबाट ४ करोड १६ लाख २४ हजार २१ रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना, बिगो असुल र कैद सजाय मागदाबी लिइएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
यो कसुरमा विष्टबाट ७ लाख ६७ हजार ९ सय ८८, जोशीविरुद्ध २४ लाख ५१ हजार ५ सय २६ रुपैयाँ, तत्कालीन इन्जिनियर कुँवर र सवइन्जिनियर बूढाविरुद्ध समान ३२ लाख १९ हजार ५ सय १४, ल्याव टेक्निसियन धनबहादुर विष्टविरुद्ध २९ लाख २८ हजार १ सय ६८ रुपैयाँ बिगो, सबै आरोपितविरुद्ध कायम बिगोबराबर जरिवाना र बिगोसमेत असुल र कैद सजायको मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
यसैगरी अख्तियारको अर्को अभियोजनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, इन्जिनियर कुँवर, सवइन्जिनियर नरेन्द्र शाही, ल्याव टेक्निसियन धनबहादुर विष्ट र ठेकेदार हरिसिंह विष्टलाई प्रतिवादी बनाइएको छ । आरोपितहरुविरुद्ध ७५ लाख ६६ हजार ९ सय ४३ रुपैया बिगो, बिगोबराबर जरिवाना र हानी भएको बिगो रकम असुल कैद सजायको मागदाबी गरिएको छ ।















