चितवन महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिए । टोपीका सौखिन उनले दुईवटा खरिद गरे । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउँछन् । अल्लोबाट बनेका टोपी खरिद गर्न पाइन्छ भनेर जानकारी पाएपछि उनी महोत्सवस्थलमा आएका हुन् ।
यसअघि पनि वाग्लेले महोत्सवकै बेला अल्लोका दुईवटा टोपी खरिद गरेका हुन् । अल्लोका सामग्री मेला महोत्सवमा मात्र किन्न पाइने उनको अनुभव छ । “अरुबेला बजारमा खोज्दा पनि भेटिँदैन”, वाग्लेले भने ।
यस्तै भरतपुर–४ का देवीप्रसाद शर्मा पनि अल्लोको टोपी किन्न महोत्सवस्थल आए । वाग्ले र शर्मा जस्तै अरु धेरैले अल्लोबाट निर्मित सामान महोत्सवमै आएर किन्न पाएको बताए । सङ्खुवासभाको खाँदबारीबाट चितवन महोत्सवमा कक्ष राखेका नरेन्द्रकुमार राई अल्लोका सामग्री बेच्न भ्याइनभ्याई भएको बताउँछन् । उनले टोपी, हाते झोला, पर्स तथा अल्लोका कपडा बिक्री महोत्सव अवलोकनकर्ताको रोजाइमा परेको बताए । “मेला महोत्सवकै अवसरमा अल्लोका सामान बढी बिक्री हुन्छन्”, राईले भने, “अरु बेला बिक्री न्यून हुन्छ ।” उनी चितवन महोत्सवमा पहिलोपटक आएका हुन् ।
नवलपुरको गैँडाकोटबाट आएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताइन् । “बजारमा भारतीय र चिनीयाँ कपडा मात्र पाइने, स्वदेशी उत्पादन किन्न महोत्सव नै कुर्नुपर्छ”, उनले भने, “अरु बेला पाउनै मुश्किल हुन्छ ।”
चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुईवटा मात्र कक्ष छन् । दाङबाट आएकी शर्मिला पुनले पनि राईले जस्तै अल्लोबाट बनेका सामग्रीको कक्ष राखेका छन् । उनी यसरी बिक्री गर्न दाङबाट चितवन चौथोपटक आएकी हुन् । उनको कक्षमा पनि अल्लोबाट बनेका कोट, झोला, हाते झोला, पर्स, ढाड दुख्दा कम्मरमा बाँध्ने बेल्टलगायत सामग्री राखिएका छन् ।
अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यसपटक धेरै ल्याएको पुनले बताइन् । “अल्लोका सामग्री धेरै बिक्ने भनेकै मेला महोत्सवमा हो”, उनले भनिन्, “नियमित बिक्रीको वातावरण अझै बन्न सकेको छैन ।” साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।