कपडाभित्र लेपन गरेर दुबईबाट काठमाडौंमा सुन तस्करी

अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचना प्रहरीले पहिले नै पाएको थियो ।

प्रहरीले विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना १ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखेको थियो। उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको फेला परेको हो।

उनीहरूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएको फेला परेको हो। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि फेरि अन्य पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा १६ घर भई काठमाडौं बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर ४ घर भई बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन छन्।

त्यस्तै नवलपरासी पश्चिम सुनवाल १० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले सो सुन भारततर्फ लग्न खोजेको देखिएको छ।