सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको छ । वार्ताका लागि बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबीच वार्ता हुन लागेको हो । वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेंसी नगरपालिका प्रमुख– उपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
मन्त्रालयले माग पूरा नगरे प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ जाने आफूहरुको तयारी रहेको समितिले जनाएको छ । सरकार र काठमाडौं महानगरपालिकाले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले फोहोर विर्सजन गर्न दिएका छैनन् । उनीहरूले बुधबार फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका झन्डै डेढ सय ट्रकहरु फर्काइदिएका थिए ।
ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएपछि फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेका थिए ।