ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।
कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्रमा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान तथा चरणको अवस्थाबारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको चेम्जोङले बताए ।
संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नाउर र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई दिइएको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउए । वन्यजन्तुबाट घरपालुवा जनवाहरुमा क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँदै आएको शेर्पाले बताए ।
वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदाधिकारीहरु नाउर गणनामा परिचालन भएका छन् । ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङ्कन गरिएको छ । त्यसले गणनामा दोहोरिने कम सम्भावना रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए ।
समुन्द्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए । नाउर गणनाको विवरण आउने भने केही समय लाग्ने कार्यालयले जनाएको छ ।