४० वर्ष भयो कुवेतविरुद्ध नेपाली टोलीले गोल नगरेको

एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो ।

जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशलाग्दो प्रदर्शन गरेका थिए ।

कुवेतविरुद्ध नेपालको राम्रो नतिजा सन् २०१९ मा भएको मैत्रिपूर्ण खेल हो, जसमा बराबरी भएको थियो।

नेपालले सन् १९८२ देखि हालसम्म कुवेतविरुद्ध आठपटक प्रतिस्पर्धा गर्दा सातवटामा नेपालले पराजय भोगेको छ। अर्थात् नेपालले कहिले पनि कुवेतलाई हराउन सकेको छैन।

कुवेतसँग पहिलो अन्तर्राष्ट्रिय गोल गरेको नेपालले ४० वर्ष भएको छ। त्यसयता नेपाल जितको खोजीमा मात्र होइन कुवेतविरुद्ध गोलविहीन बन्दै आएको छ। नेपालले कुवेतसँग ३० गोल बेहोरेको छ।

वाईबी घलेले सन् १९८२ मा गरेको गोल नै कुवेतविरुद्ध नेपालको एक मात्र गोल हो। उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो।