एसपीपी कुनै पनि हालतमा स्वीकार्न नसकिने एमाले नेता ज्ञवालीको भनाइ

नेकपा (एमाले)ले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा नधकेल्न चेतावनी दिएको छ । एसपीपी कुनै पनि हालतमा स्वीकार्न नसकिने एमालेको भनाइ छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्‍मा जवाफ दिन माग गरेका छन् । एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उनको भनाइ थियो ।

नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको आरोप लगाए । नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उनले बताए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि एसपीपी सम्झौताबारे कुरा आएको तर उक्त सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनेर होल्डमा राखिएको ज्ञवालीले बताए ।