नेपालको एनएमबी बैंक लिमिटेड परम्परागत इन्धनको प्रयोग नगर्ने सम्झौतामा जोडिएको छ ।
बैंकले फोसिल फ्युल ननप्रलिफरेसन ट्रिटी इनिसिएटिभलाई आत्मसात् गरेको ग्लोबल अलायन्स फर ब्यान्किङ अन भ्यालुज (जीएबीभी)को १७ बैंकहरुको समूहसँग आबद्ध भएको हो ।
यो इनिसिएटिभ अन्तर्राष्ट्रिय सहकार्यबाट सबैका लागि नवीकरणीय ऊर्जामा रुपान्तरणलाई जोड दिन जलवायुसम्बन्धी पेरिस सम्झौताले अघि सारेका लक्ष्य पूरा गर्न अघि सारिएको पहल हो ।
यसले परम्परागत (जीवाश्म) इन्धन उत्पादन र प्रयोग अन्त्यलाई जोड दिन्छ । यसले पेट्रोलियम, कोइलाको उत्पादन नै जलवायु संकटको मूल कारण भएकाले त्यसविरुद्ध नवीकरणीय ऊर्जामा लाग्न प्रतिबद्धता जाहेर गर्छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी सुनिल केसीले शून्य कार्बन उत्सर्जनमा सहयोग गर्ने भएकाले बैंकले पनि प्रतिबद्धता जाहेर गरेको बताए ।