झापाको कन्काइमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन् ।
गएराति ८ बजे कन्काई नगरपालिका ३ सुरुंगामा रा १ प ६३०० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बसले ठक्कर दिँदा झापाकै बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज लगिएको थियो । अस्पताल पुर्याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
दुर्घटनामा परेको मोटरसाइकलको पछाडि बस्ने मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएको आशंकामा प्रहरीले एउटा बस र त्यसका चालकलाई पक्राउ गरेको छ । तर, बस नम्बर र चालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
‘ठक्कर दिने बस यकिन नभएकाले नियन्त्रणमा लिइएको बस नम्बर र चालकको नाम भने अहिले हामीले सार्वजनिक गरेका छैनौँ। अनुसन्धानपछि हामी थप विवरण दिउँला,’ चन्दले भने ।