कोभिड भएपछि फोक्सोमा देखिएको खराबी पत्ता लगाउन नयाँ प्रविधिको विकास

कोरोना भाइरस सङ्क्रमण भइसकेको मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि पत्ता लागेको छ ।

बेलायतमा यो प्रविधिमार्फत गरिएको प्रारम्भिक अध्ययनले कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्ने गरी क्षति भएको देखाएको बीबीसीले जनाएको छ ।

नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रुपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नयाँ ग्याँस स्क्यान प्रक्रिया अपनाएका थिए ।

कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा यो प्रविधिमार्फत अध्ययन गरिएकोमा नियमित जाँचबाट पत्ता नलाग्ने  गरी क्षति भएको देखाएको हो ।

यसबारे अझै बृहत् र विस्तृत अध्ययन भइरहेको खबरमा जनाइएको छ ।  कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो ।

अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका प्रायजसाे बिरामीलाई किन श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ भन्नेबारे थप प्रष्ट पार्ने बताएका छन् । जाँचमा अरू कुनै रोग नदेखिए पनि कोरोना भाइरस सङ्क्रमण लक्षण कयौँ हप्तासम्म निको नहुने अवस्थालाई दीर्घ कोभिड भन्ने गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार