पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोली राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।

सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोली सञ्चालन गर्न लागेको हो । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन स्वास्थ्य मन्त्रालयको आग्रह छ। स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी कायम गरी प्रतिघण्टा १० जना बालबालिकामात्र उपस्थित हुने गरी खोप केन्द्रको व्यवस्थापन गर्न सबै खोप केन्द्रहरुलाई आग्रह समेत गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिटामिन ए कार्यक्रममा पाखुराको मध्य भागको परिधिको नाप लिने कार्य स्थगन गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार