बीमामा पहिलो सफल मर्जर, यस्ता छन् ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ का आगामी योजना

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज साउन १ गते सुरु भएको छ । आज काठमाण्डौमा एक विशेष समारोहको आयोजना गरी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सुरु भएको उद्घोष गरिएको हो । यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए ।

कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहले बीमा क्षेत्रमा यो पहिलो मर्जर रहेको बताएका छन् । उनले बीमा कम्पनीहरुबीचको मर्जरले बीमा व्यवसाय सुदृढ हुने विचार राखे ।

यी दुवै कम्पनी ३ दशकअघि स्थापना भएका थिए। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। बीमा समितिको तोकेको चुक्तापुँजी बोनस सेयर वितरण गरेर पुर्याउने सीईओ शाहले बताए  ।  शाहको अनुसार कम्पनीको आगामी योजना बीमालाई व्यापक बनाउने रहेको छ । बीमालाई व्यापक बनाउनका लागि कम्पनीले प्रविधिको प्रयोग गर्ने उनले बताए ।

खुद बीमा शुल्क आर्जन ३ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको मर्जरपछि कुल शाखा ७५ र कार्यरत कर्मचारीको संख्या ४४४ पुगेको छ।

कम्पनीले चालु आर्थिक वर्षभित्रै खुद बीमा शुल्क आर्जन ४ अर्ब २५ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको सीईओ शाहले बताएका छन् । साबिक कम्पनीका अध्यक्ष राजीव सापकोटले मर्जरपछि कम्पनीको व्यवसायले गुणात्मक छलाङ मार्ने र लगानीकर्ताले उच्च प्रतिफल पाउने बताए । सबल पक्ष आत्मसात गर्दै कम्पनी प्रशंसा गर्न लायक बन्ने उनाको विश्वास थियो ।

संयुक्त मर्जर समितिका संयोजक आजय रत्न स्थापितले निर्जीवन बीमा क्षेत्रमा हिमालय एभरेष्ट उत्कृष्ट कम्पनी बन्ने दाबी गरे ।

यस्तै, हिमालयन जनरलले पनि २०५० सालदेखि नै निर्जीवन बीमा सम्बन्धी व्यवसाय गर्दै आएको छ ।