मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २१ वर्षीय वासुदेव अर्याल पक्राउ परेका छन् । चेकमा नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर एक कम्पनीको रकम झिकेको आरोपमा पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरका अनुसार २१ वर्षीय अर्यालले बाटोमा भेटेको चेकका आधारमा अर्को चेक बुक निकालेर त्यसबाट १० लाख ३५ हजार भुक्तानी लिइसकेपछि पक्राउ परेका हुन् । त्रिपुरेश्वरस्थि फल्कोनाइड इन्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाममा रहेको एसबीआई बैंकको हस्ताक्षरसहितको चेक अर्यालले भेटेका थिए । सात लाख रूपैयाँ उल्लेख भएको उक्त चेक नसाटिएपछि अर्यालले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर उक्त बैंकबाट चेकबुक जारी गर्न लगाएको प्रहरीले जनाएको छ ।
‘हराएको चेक तत्कालै सम्बन्धित व्यक्तिले बैंकमा पुगेर रोकेका रहेछन् । त्यसपछि अर्याल आफैले चेकमा रहेको दस्तखत र छाप हेरेर नयाँ तयार गरेको पाइएको छ । पेप्सीकोलास्थित एसबीआई बैंकले पनि दुरुस्तै छाप र हस्ताक्षर देखेपछि चेक जारी गरेको रहेछ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । जारी भएको चेकबाट सौरभ डंगोलको नाममा पैसा निकाल्ने गरेको पाइएको छ । बाटोमा फेला परेको डंगोलको सवारी लाइसेन्सका आधारमा अर्यालले उनको नामबाट पैसा निकाल्ने गरेको प्रहरीको भनाइ छ । अर्यालसँग सूचना विभागबाट जारी पत्रकार परिचय पत्र पनि रहेको प्रहरीले जनाएको छ । उक्त पत्रकार परिचय पत्रमा अर्याल तिखोकलम डटकममा आबद्ध रहेको देखिन्छ ।