कृषकको घरघरमा पुगेर कृषि बीमा गर्दै नेको इन्स्योरेन्स, अभियानको शुभारम्भ

नेको इन्स्योरेन्सको कृषि अभियान शुभारम्भ गरेको छ । कम्पनीले कृषकको घरघरमा पुगेर कृषि बीमा गर्ने घोषणा गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमकाबीच ‘नेकोको अभियान कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ गरेको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।

कृषकले गरेको लगानीमा अप्रत्यासित नोक्सानीमा बीमा कम्पनीले सुरक्षा दिने हेतुले यस अभियान सञ्चालनमा ल्याएको कम्पनीका सिईओ अशोककुमार खड्काले बताएका छन् । किसानले नबुझेर वा बुझाउन नसकेर कृषि बीमामा आकर्षण बढ्न नसकेको र जसकारण यस्ता क्षति भोग्नुपर्दा किसानहरुका जोखिमको सुरक्षण गर्न यस अभियान संचालनमा ल्याएको उनको भनाई छ ।

उनले भने, ‘यसको लागि सरकारले अनुदान दिइरहेको बेलामा पनि हामी किन पछि परेका छौं ? त्यसको खोजी सुरु गरेका हौं । छलफल गर्ने क्रममा हामी सुदूरपश्चिमसम्म पुग्यौं । पहिले धान चामल बिक्री केन्द्र भन्ने थियो । हाम्रो बुवाहरुले धान बेच्नु हुन्थ्यो । तर, अहिले हाम्रो जमिन धेरै बाँझै छ । हामीले धान बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ भन्ने हाम्रो पनि सोच हो ।’

उनले कृषि उत्पादन बढाउन र आयात घटाउन पनि आफ्नो ठाउँबाट केही गर्नु पर्छ भन्दै नेको अभियानमा लागेको बताउँदै खड्काले सरकारले दिएको अनुदान वास्तविक किसानले पाउनुपर्छ भन्ने पनि यस अभियानको उद्देश्य रहेको बताए ।  उनले भने, ‘अहिले बजारमा दुई किसिमका कृषक देखिएकाले विभिन्न जोखिम बढेको छ । नक्कली किसानका कारण सक्कली किसानको लगानी जोखिममा परेको छ ।’

यस अभियानका लागि नेकोका हरेक शाखा र हरेक कर्मचारी तयार रहेको र यसलाई मेची महाकाली फैलाउने सीईओ खड्काले बताए । उनले आवश्यकता परेमा आफूहरु अन्य जनशक्ति समेत थप्न तयार रहेको बताए ।