मुक्त कमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलको सिफारिसलाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।

प्रधानमन्त्री देउवाले कुप्रचारको निर्मुल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए ।प्रधानमन्त्री देउवाले हरुवाचरुवा, लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नत्तिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले मुक्तकमैयालाई आत्मनिर्भर बनाउन, उनीहरूको स्वतन्त्रता र स्वाभिमानलाई आत्मसम्मान गर्न तीनै तहका सरकार र सरोकारवालाहरू प्रतिवद्ध हुन आवश्यक रहेको उल्लेख गरे ।