रुस-युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै

रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकाले युरोपका विभिन्न मुलुकमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति जो बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् ।

अमेरिकी रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले बुधबार जर्मनी, पोल्यान्ड र रोमानियामा थप ३ हजार सैनिक तैनाथ गरिने जानकारी दिएका हुन् । यसअघि अमेरिकाले नेटो गठबन्धनको सेनालाई युरोपमा सहयोग गर्नका लागि ८ हजार ५ सय सैनिकलाई अलर्टमा राखिएको बताएको थियो । प्रेस सचिव किर्बीले तीन मुलुकमा पठाइन लागेका सैनिक भने अलग्गै भएको जानकारी दिए ।

अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।

अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ । रसियाले युक्रेन अतिक्रमणको योजनामा गरेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् । तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । आठ वर्षअघि रुसले युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई आफ्नो भूभागमा बिलय गराउन सफल भएको थियो ।

युक्रेनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा शान्ति कायम गर्ने बारे भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको रसियाले आरोप लगाउँदै आएको छ । दोनबासमा रसिया समर्थित विद्रोहीले ठूलो भूभाग नियन्त्रणमा लिएका छन् ।

विद्रोही र युक्रेनका सुरक्षाकर्मीबीच सन् २०१४ देखि भएको युद्धमा कम्तिमा १४ हजार जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार