लामो रस्साकस्सीपछि तिलोत्तमा नगरपालिकाको बजेट पारित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको हो।

मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ ।

मंगलबार बसेको नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।

नगरसभाले आर्थिक वर्ष २०७९र८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।