पढाइदिने भन्दै बालिकालाई भारतमा बिक्री गर्ने महिला पक्राउ

अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौँ जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखी पढाई दिने प्रलोभन देखाई काठमाडौँस्थित आफ्नै घरमा राखेकी थिइन् । उनले पछि झापाको काकरभिट्टा पुर्‍याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्धार गरी हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौँ भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।