ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरूको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कष्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् ।

केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रस्ट रूपमा अपमानित भएको’ बताएका छन् । प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो ।

सरकारले ल्याएको कोभिड खोप प्रावधानको विरोधमा ट्रक चालकहरूले विरोध गर्दै आएका छन् । चालकहरूले ट्रक तेर्साउँदा ओटावाको जनजीवन अस्तव्यस्त बनेको छ भने राजधानीमा आपत्काल घोषणा गरिएको छ ।

करिब दुई सातादेखि सडकमा जथाभाबी राखिएका ट्रकहरूका कारण जनजीवन अस्तव्यस्त हुनुका साथै स्थानीय व्यापार ठप्प छ । चालकहरूले निरन्तर हर्न बजाउँदा स्थानीय मानिस क्रुद्ध बनेका छन् ।

यसैबिच ओटावाका न्यायाधीशले एउटा फैसला गर्दै चालकहरूले कम्तीमा १० दिन राजधानीमा हर्न बजाउन नपाउने निर्णय गरेका छन् । ट्रक चालकहरूको आन्दोलनमा अतिवादीको घुसपैठ हुन सक्नेतर्फ ओटावा प्रहरी सचेत बनेको छ । प्रदर्शनकारीले जातीय दुर्व्यवहार र समलिङ्गीप्रति अपमान गर्नुका साथै नेसनल वार मेमोरियलको एक अज्ञात सिपाहीको चिहानमा नाचेको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्पत्तिमा क्षतिसहित ६० ओटा भन्दाबढी घटनाहरूका बारेमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार