प्लास्टिक जन्य वस्तुमा हानीकारक कच्चा पदार्थको प्रयोग, सरकार बेखबर
उत्पादक कम्पनीहरूले जनस्वास्थ्यमा खेलवाड गर्दै
काठमाडौं । नेपाली बजारमा छ्यापछ्याप्ती पाइने प्लास्टिकजन्य वस्तुमा हानिकारक कच्चा पदार्थ प्रयोग हुने गरेको छ । नेपालमा नै उत्पादन हुने गरेका प्लास्टिकका विभिन्न वस्तुहरू जस्तै पाइप, ट्याङ्की तथा ड्रमहरूमा प्रयोग हुने कच्चा पदार्थले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने डाक्टरहरू बताउँछन् ।
नेपालमा नै कच्चा पदार्थ उत्पादन नहुने हुँदा उत्पादकहरू विदेशी बजारबाट कमसल कच्चा पदार्थ खरिद गर्ने गरेका छन् । जसले मानव स्वास्थ्यमा क्यान्सर, मुटु सम्बन्धी विभिन्न दीर्घकालीन रोग उत्पन्न गराउने गर्दछ । नेपालमा प्लास्टिकका विभिन्न वस्तुहरूको उत्पादनमा कमसल प्रकारका एलएलडिपी, पीपीसी र एचडिपी जस्ता कच्चा पर्दाथ प्रयोग हुने गरेको छ । विश्वका कतिपय देशहरूमा यस्ता प्रकारका कमसल कच्चा पदार्थहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस्ता प्रकारका कच्चा पदार्थले बस्तु टिकाउ हुने भए पनि मानव स्वास्थ्य र वातावरणीय रूपमा दीर्घकालीन असर पार्ने गर्छ । उत्पादक कम्पनीहरूले प्लास्टिकजन्य बलियो र टिकाउ बनाउने तर्फ ध्यान दिए पनि जनस्वास्थ्यको विषयमा ध्यान नदिएको देखिन्छ ।
यसतर्फ अहिलेसम्म पनि सरकारको समेत ध्यान गएको छैन । नेपाल सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाए पनि प्लास्टिक जन्य वस्तुमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तरमा भने चासो देखाएको छैन । जसले गर्दा उत्पादक कम्पनीहरूले आफूखुसी जथाभाबी कच्चा पदार्थको प्रयोग गर्ने गरेका छन् ।
कस्ता प्रकारका कच्चा पदार्थ प्रयोग हुने गर्दछन् ?
पछिल्लो समय नेपाली बजारमा बलियो र टिकाउ हुने भन्दै विभिन्न प्लास्टिक जन्य वस्तुहरूको उत्पादन हुने गरेको छ । उपभोक्ताहरूले पनि नेपाली उत्पादन नै प्रयोग गरेका छन् । तर नेपाली बजारमा उत्पादन हुने प्लास्टिक जन्य वस्तुहरूमा कमसल प्रकारका एलएलडिपी र एचडिपी कच्चा पदार्थ प्रयोग हुने गरेको छ । कुनै कुनै कम्पनीहरूले पोलिइथाइनल भिनलको पीपीसी समेत प्रयोग गर्ने गरेको देखिएको छ । एलएलडिपी, पोलिइथाइनल भिनल र एचडिपी जस्ता कच्चा पर्दाथको प्रयोगमा विश्वका केही देशले प्रतिबन्ध समेत लगाएका छन् ।
स्वास्थ्यमा कस्ता समस्या देखिन्छन् ?
जथाभाबी प्लास्टिकको प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन समस्याहरू उत्पन्न हुन्छन् । प्लास्टिकको प्रयोगले मुटु, छाला, फोक्सो सम्बन्धी विभिन्न समस्याहरू देखा पर्ने गरेको डाक्टर बताउँछन् । प्लास्टिक जन्य पदार्थ र त्यसको उत्पादनमा प्रयोग हुने कमसल कच्चा पदार्थले मानव स्वास्थ्यमा गम्भीर समस्या देखा पर्ने गरेको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताउँछन् । उनका अनुसार अहिले नेपालमा नै उत्पादन हुने गरेका प्लास्टिकजन्य बस्तुमा प्रयोग भएका कच्चा पदार्थ अत्यन्त हानिकारक छन् ।
‘प्लास्टिकजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्छ । यस्ता वस्तु उत्पादनमा प्रयोग हुने कमसल कच्चा पदार्थले मानव मस्तिष्क, मुटु, फोक्सो, छालामा दीर्घकालीन असर गर्दछ । क्यान्सरको प्रमुख कारण नै प्लास्टिकजन्य पदार्थ हुन् । यसको प्रयोगमा ध्यान दिन जरुरी छ ।’ उनले भने ।
यस्तै डा. विशाल पौडेलले नेपालमा उत्पादन हुने प्लास्टिक जन्य पदार्थ मानव स्वास्थ्यका हिसाबले अत्यन्तै हानिकारक भएको बताउँछन् । उनले सरकारले तत्काल यस सम्बन्धी नियम बनाउन आवश्यक रहेको बताए । उनका अनुसार प्लास्टिक जन्य पदार्थ र त्यसमा प्रयोग हुने कमसल कच्चा पदार्थले छाला, मुटु, फोक्सो, मस्तिष्क सम्बन्धी विभिन्न समस्या उत्पन्न गराउँछ ।
के भन्छन्, उत्पादक कम्पनीका सञ्चालक ?
पानी ट्याङ्की उत्पादक कम्पनीहरूले आफूहरूले जनताको स्वास्थ्यलाई हानी नपुग्ने गरी उत्पादन गरेको दाबी गर्दछन् । उनीहरुले यसको खरिद प्रक्रियामा सरकार कुनै पनि मापदण्ड नबनाएका कारण आफूहरूलाई अप्ठ्यारो पर्ने गरेको समेत गुनासो गरेका छन् । उनीहरुले सरकारले खरिदको मापदण्ड बनाउन आवश्यक रहेको बताएका छन् ।