नोबेल शान्ति पुरस्कार विजेता तथा पाकिस्तानी शिक्षा अभियान्ता मलाला युसुफजाईले भारतले विद्यालयमा हिजाब लगाउन गरेको प्रतिबन्धको विरोध गरेकी छन् ।
भारतको कर्नाटक राज्यका ६ जना भारतीय छात्राले विद्यालयमा हिजाब लगाउन पाउनु पर्ने भन्दै अभियान चलाएका छन् । मलालाले ट्विटरमार्फत उनीहरुको बचाऊ गरेकी छन् । उनले हिजाबमा लागेको प्रतिबन्ध ‘डरलाग्दो’ भएको टिप्पणी गरेकी छन् ।
मलालाले भारतका नेताहरूलाई मुस्लिम महिलाहरूको सीमान्तकरण रोक्नका लागि पहल गर्न आग्रह समेत गरेकी छन् ।
विद्यालयले हिजाब लगाउन प्रतिबन्ध लगाएपछि ती किशोरीहरू हप्तौंदेखि विरोध प्रदर्शन गरिरहेका छन् । यसले भारतमा फेरि धार्मिक तनाव बढ्दै गएको छ । त्यो राज्यमा विद्यालयहरू तीन दिनका लागि बन्द छन् ।
यो विषय अदालतसम्म पुगेको छ । विद्यार्थीले अदालतमा दायर गरेको निवेदनमा हिजाब संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएको दाबी गरिएको छ ।
कर्नाटकको एक हाइस्कुलले कक्षामा हिजाब लगाउने प्रतिबन्ध लगाएपछि ती किशोरीहरूले विरोध सुरु गरेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार प्रतिबन्धको विरोध र समर्थकमा निस्किएका र्यालीमा झडप हुँदा केही प्रदर्शकारी घाइते भएका छन् ।
कर्नाटकका मुख्यमन्त्रीले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्देशन दिएका छन् । साथै उनले सबै विद्यार्थी, शिक्षक र विद्यालय वा कलेजका व्यवस्थापनका साथै कर्नाटकका जनतालाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन् ।