काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक तथा प्रशासनिक अधिकार डा. कमल प्रसाद पोखरेललाई प्रदान गरिएको छ । योसँगै राखेपमा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ ।
सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्ग्याउन नसक्दा लामो समयदेखि नेतृत्वविहीन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा.कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गरेका हुन् ।
राखेप सदस्य सचिव सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा किनार नलाग्दा विगत २ महिनादेखि परिषद्को सम्पूर्ण कामकारबाही ठप्प भएको थियो । परिषदमा देखिएको समस्या समाधानका लागि युवा तथा खेलकुद मन्त्री गहतराजले यही माघ २४ गतेको मन्त्रिपरिषद् बैठकमा अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रस्ताव पास गर्दै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्क अध्यक्षका हैसियतमा मन्त्रीलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को इतिहासमै पहिलो पटक सदस्य सचिवको अधिकार अन्य कर्मचारीलाई प्रत्यायोजन गरिएको हो ।