काठमाडौं । पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको भन्दै एक जनाको निर्मम हत्या गरिएको छ। पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारमा उल्लेख भएअनुसार ती पुरूषले सुरूमा कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थानीयले उनलाई रूखमा बाँधेर ढुंगाले हानी हत्या गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार आरोपीलाई गाउँलेहरूले मार्नुभन्दा पहिला प्रहरी टोली पुगेको थियो तर गाउँलेले उनलाई प्रहरीबाट थुतेर लगेका थिए। पन्जाबका मुख्यमन्त्री उस्मान बज्दारले घटनाबारे प्रहरी उच्च अधिकारीसँग रिपोर्ट मागेका छन्। पाकिस्तानमा ईशनिन्दा र कुरानको अपमान गरेको आरोपमा मानिसको हत्या हुने घटना भइरहन्छन्।