काठमाडौं, बारा र नवलपरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा।७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शंखरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तर खेलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगञ्जमा र मोटरसाइकलमा सवार एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा बा।७१ प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका–१० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साह रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।











