महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् । २०७७ चैतमा प्रमुख कार्यकारी नियुक्त भएका देवकोटा १५ महिना कार्यकाल बाँकी हुँदै राजीनामा दिएका छन् । व्यक्तिगत कारणले बैंकको सीईओ पदबाट राजीनामा दिएको बताएका छन् ।

देवकोटाले दिएको राजीनामा शुक्रबार सञ्चालक समितिले स्वीकृति गरिसकेको छ । देवकोटा महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुअघि सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। सिटिजन्सको स्थापनाकालदेखि नै उनी आवद्ध थिए।

काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका उनीसँग बैंकिङ क्षेत्रको करिब साढे दुई दशकको अनुभव छ। उनले सिटिजन्स बैंकमा १४ वर्ष र नेपाल बैंकमा १० वर्ष काम गरेका थिए ।