डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाई, कहाँ–कहाँ प्रयोग गर्न नपाइने ?

नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाई गरेको छ। केन्द्रीय बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने ब्यवस्था गरेको छ।

राष्ट्र बैंकले विकास बैंक र वाणिज्य बैंकहरुले ५०० डलरसम्मको प्रिपेड डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेको छ। अव उक्त कार्डबाट १८ वटा बस्तु ताथा सेवा खरिदको भुक्तानी गर्न नपाइने भएको हो।

राष्ट्र बैंकले मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), धितोपत्र दलाल र डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर, वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), बेटिङ (क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा) कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई प्रिपेड कार्डमार्फत भुक्तानी गर्न नपाइने भएको हो।

राष्ट्र बैंकले एक निर्देशन जारी गरी १८ प्रकारका वस्तु तथा सेवा खरिदमा प्रिपेड कार्डबाट भुक्तानी नहुने व्यवस्था गर्न भनेको छ । यस्ता वस्तुहरुमा मर्चेण्ट क्याटेगोरी कोड नम्बरहरु ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११ र ६३०० रहेका छन् । यस्तै, मर्चेण्ट क्याटेगोरी कोड नम्बरहरु ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६२ को भुक्तानीमा पनि डलर प्रिपेड कार्ड प्रयोग नहुने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुलाई निर्देशन दिँदै यस्तो व्यवस्था गर्न भनेको हो । डलर प्रिपेड कार्ड जारी गर्ने अधिकार पनि वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुलाई मात्रै दिइएको छ । राष्ट्र बैंकको सो निर्देशनले नेपालीलाई केही सेवा खरिदमा संकुचन आउने देखिन्छ । किनभने राष्ट्र बैंकले भुक्तानी नहुने व्यवस्था मिलाउन भनेका यी मर्चेण्ट क्याटेगोरी कोड (एमसीसी) नम्बरहरु मनोरञ्जन प्रयोजनका सेवा खरिदमा पनि प्रयोग हुन्छ ।