काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यरकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन माओवादी कार्यकर्ताले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन्।
घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन माओवादी केन्द्रका काठमाडौंमा क्रियाशील नेताहरूले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका हुन्।
सोमबार माओवादी अध्यक्ष प्रचण्डले पार्टीको एक कार्यक्रममा निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो भन्दै काठमाडौंमा बालेन शाहले ल्याएकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका थिए। उनले काठमाडौंमा माओवादीको अवस्था चिन्ताजनक भएकाले नयाँ अनुहारलाई उम्मेदवार बनाउने पक्षमा आफू रहेको बताएका हुन्।
यसअघिको चुनावमा काठमाण्डूमा माओवादीले एक सीट पनि जितेको थिएन। प्रचण्डले सोही कार्यक्रम देखा परिरहेका अनुहारहरूले जित्ने स्थिति नदेखिएको भन्दै नयाँ उम्मेदवार ल्याउने सोच रहेको बताएका थिए।
तर यसबारे पार्टीभित्र कुनै आधिकारिक छलफल वा निर्णय भने भइनसकेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बताएका छन्।
के भन्छन् कुलमान ?
आफूले चुनावमा उठ्ने विषयमा कुनै पनि निर्णय नगरको कुलमान घिसिङले बताएका छन् । टिभी अन्नपूर्णसँगको कुराकानी उनले बाहिर विभिन्न हल्ला भएपनि आफूले चुनाव लड्ने बारे कुनै धारणा बनाइ नसकेको बताएका हुन् ।
‘मैले (चुनाव उठ्ने)बारे केही निर्णय गरेको छैन,’ घिसिङले भने ‘चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।’
दोस्रो चारवर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ। उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवम् ऊर्जामन्त्री पम्फा भुसालले नै पहल गरेको देखिएको थियो।