काठमाडाैँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।
समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो समय बसेको हो । समितिले जबरालाई २ वटा प्रश्न सोधेको थियो । अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो ।
‘भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन गर्न नसकेको र न्याय सम्पादनमा भ्रष्टाचार केन्द्रीत भएर फैसला गरियो भन्ने छ, यसमा तपाईको भनाई के हो रु भनेर गरिएको प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर जानुभयो’, विश्वकर्माले बयानमा गरिएका सवाल जवाफबारे जानकारी दिए । त्यसक्रममा जबराले समिति र संसदलाई नै प्रश्न गरेका थिए । जसले गर्दा समय लागेको विश्वकर्माले जानकारी दिए ।
जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन् ।
उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।
जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे । योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ ।