मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन

काठमाडौँ – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ ।

सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट एउटा कम्पनीभन्दा धेरै सैनिक परिचालन गरिएको छ । मतपत्र छपाइस्थल सुरक्षामा ७ नम्बर बाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ ।

मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । प्रवक्ता सिलवालले भने– ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’