एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई नेता भट्टको निर्देशन

बैतडी – नेकपा एमालेका सचिव लेखराज भट्टले आसन्न निर्वाचनमा एकढिक्का भएर जान कार्यकर्तालाई निर्देशन दिएका छन्। बैतडीको पाटनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टले एकढिक्का भएर अगाडि बढ्न निर्देशन दिएका हुन्।

पार्टीभित्रको अन्तरसंघर्षका कारण पार्टी फुटेको बताउँदै भट्टले चुनावमा एक भएर गए जित सुनिश्चित रहेको दावी गरे। ‘आन्तरिक रूपमा पार्टी बलियो हुनुपर्छ, यदि भएन भने ५० प्रतिशत हार भइसकेको हुन्छ। त्यसैले एकताबद्ध भएर लाग्नुपर्छ। आफ्ना कमीकमोजरी सच्याएर अगाडि बढ्नुपर्छ। पार्टीको विधि विधानअनुसार अगाडि बढ्नुपर्छ’भट्टले भने।

व्यक्तिगत स्वार्थमा नलागेर चेन अफ कमान्डलाई पार्टीका सबै नेता कार्यकर्ताले स्वीकार्नुपर्नेमा जोड दिँदै भट्टले अहिलेको आवश्यकता अनुसार एमाले ठीक रहेको बताए।

पार्टीको नेतृत्वसँग मालिक र नोकरको सम्बन्ध हुनु हुँदैन, ती कम्युनिस्ट होइनन्। एमाले सरकारले चुच्चे नक्सा कायम गरेर इतिहास कायम गरेको भट्टको भनाइ छ ।