विराटनगर – प्रदेश १ प्रदेशसभाको पाँच वर्षे कार्यकालको अन्तिम बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बजेट अधिवेशन गत साउन २२ गते स्थगित भएको थियो ।
प्रदेश १ को नामकरण गर्ने भन्दै दलहरुले छलफललाई तीब्र बनाएका कारण सहमतिका लागि भन्दै बैठक अन्त्य गरिएको थियो । यद्यपि दलहरुबीच नामको विषयमा सहमति हुन सकेन । पाँच वर्षे पहिलो कार्यकालमा स्थायी राजधानी भने घोषणा भएको छ ।
प्रदेश १ सरकारले १० औं तथा पहिलो संसदको अन्तिम बजेट अधिवेशनमा नामको विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको थियो । तर पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा सहमति नजुटेपछि नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन ।
मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेका कारण प्रदेशसभाबाट नाम आउने सम्भावना नरहेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन् । प्रदेशको नाम अब आउने प्रतिनिधिले टुङ्गो लगाउने उनको भनाइ छ ।
प्रदेश सरकारले शुक्रबारबाट अधिवेशन अन्त्य गर्ने निर्णय भदौ १२ गते नै गरेको थियो । प्रदेशसभा सचिवालयले सोही दिन प्रदेश सभा सचिवालयले पनि शुक्रबार दिनको १ बजे बैठक बस्ने गरी सूचना प्रकाशित गरेको थियो ।
मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो पहिलो प्राथमिकताको काम प्रदेश १ को नामाकरण भएको बताएका थिए । नामकरणका लागि छलफल गर्न स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वको समिति गठन गरे । तर समितिले पनि एउटा मात्रै छलफल गरेको थियो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूलो दल नेकपा एमाले भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा थियो । माओवादी केन्द्रसहित तीन दलले पहिचानको आधारमा नाम राख्नुपर्ने बताइरहँदा नेपाली कांग्रेसले सहमतिको बिन्दु खोज्नुपर्ने बताएको थियो ।