राष्ट्रिय अनुसन्धान केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने भएको छ । मन्त्रालयले लघु, घरेलु तथा साना उद्यमलाई चाहिने मेसिनरी अनुसन्धान र विकास गर्नका लागि केन्द्रलाई उक्त अनुदान दिन लागेको हो ।

आज मन्त्रालयमा आयोजित कार्यक्रमका बीच लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन बोर्ड र केन्द्रका सञ्चालक पुनले समझदारी पत्रमा हस्ताक्षर गरे । उद्योग प्रबद्र्धन केन्द्रका निमित्त कार्यकारी अधिकृत विष्णुप्रसाद भुसाल र आविस्कार केन्द्रका अध्यक्ष डा।पुनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा उपस्थित मन्त्री बडूले सरकारको लक्ष्य नै साना तथा घरेलु र लघु उद्यमको विकास गर्नु भएको बताए । उनले सरकारको यो लक्ष्यमा आविष्कार केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले अनुदान बापत ४० लाख रुपैयाँ दिएको समेत बताए ।

कार्यक्रममा बोल्दै डा. पुनले आविष्कार केन्द्रको मूख्य लक्ष्य नै उद्यमी जन्माउनुभएको बताए । उनले साना उद्यमी जन्माउने केन्द्रको लक्ष्य बमोजिम नै मन्त्रालयबाट पाएको अनुदानको रकम खर्च गर्ने समेत बताए ।