काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन्।
कार्यकालको १०० दिन पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फतमार्फत ६ बुँदे स्पष्टीकरण प्रस्तुत गर्दै साहले आफूहरूप्रति रहेको विश्वास र समर्थनलाई निराश बन्न नदिने बताएका छन्।
उनले फुटपाथबाट मकैको ठेला हटाएको, ई–स्पोर्ट्सका लागि लागि एक करोड रुपैयाँ छुट्याएको, र्यापर यमबुद्धको शालिक निर्माण प्रसंग, आफू मद्यपान गरी सार्वजनिक कार्यक्रममा गएको भन्ने मिडियामा आएका कुरा, फोहोर व्यवस्थापनामा भएको ढिलाइ र अनधिकृत संरचना हटाउने विषयमा स्पष्टीकरण दिएका छन्।
‘कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ। सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोख्यौँ’, उनले प्रष्टीकरण दिएका छन्, ‘आम मानिसको आवाज सम्बन्धित ठाउँसम्म पुर्याउने सेतुका रूपमा मात्रै हामीले ती कार्य गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो।’















