भ्रष्टाचार आरोपी गच्छदार कांग्रेसबाट उम्मेदवारमा सिफारिस

सुनसरी – नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ । उनले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् ।

रौतहटमा बम विस्फोट गराएको र जिउँदा मान्छेलाई इँटाभट्टामा जलाएको आरोपमा जेलमा रहेका मोहमद अफताब आलमलाई उम्मेदवार सिफारिस गरेको काँग्रेसले भ्रष्टार आरोपी गच्छेदारलाई पनि उम्मेद्वार सिफारिस गरेको हो । सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।